काठमाडौं । तत्कालिन माओवादी जनयुद्धका कमान्डर तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वलडाकुलाई मान्छे र हैसियत हेरेर केपी ओली पक्षले खरिद गर्न थालेको आरोप लगाएका छन् ।
बुधबार पूर्वलडाकुको भेलालाई सम्बोधन गदै उनले भने– तपाईंहरुले सय जना लिएर जानुभयो भने १० लाख २० लाख कति हो । २०० सय लिएर जानुभयो भने ३०/४० लाख, अझ धेरै लिएर जानुभयो ४ हजार नै उठाएर लानुभयो भने एक करोड दुई करोड यस्तो पो छ त अहिले त ।
अध्यक्ष प्रचण्डले आफूले केही दिन नसक्दा पनि पूर्व जनमुक्ति सेनाले आफ्नो साथ नछाडेकोमा आफैं छक्क परेको बताए ।
प्रचण्डको भनाइ जस्ताको तस्तै
योद्धाहरुलाई खरिद्ने, तपाईंहरुलाई खरिद्ने आठ–दश लाख, २० लाख दिएर हुन्छ भने अब कुन स्तरको तपाई कमान्डर हो, कति मान्छे लिएर तपाई आउन सक्नुहुन्छ त्यसमा कोटा हुन्छ । तपाईंहरुले सय सयजना लिएर जानुभयो भने १० लाख २० लाख कति हो । २०० सय लिएर जानुभयो भने ३०/४० लाख, अझ धेरै लिएर जानुभयो ४ हजार नै उठाएर लानुभयो भने १ करोड दुई करोड यस्तो पो छ त अहिले त ।
तपाईंहरुले हामीलाई माया गरेर गर्न थालेको ठान्नुभयो भने त यो त दुर्भाग्य हुन्छ । त्यस्तो होइन, तपाईं हामीलाई भेडाबाख्रा..यिनलाई खरिदबिक्री गरेर सिध्याउने हो । खरिद्ने किन ? तपाईंहरुलाई अलि मोटो बनाएर काट्ने अनि मासु खाने भनेर लाने हो । हिजो पनि हामीलाई पैसाको मूल्य तोकेकै थिए, अहिले पनि तोकेका छन् ।