वुहान — कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोलीले आइतबार वुहानको भ्रमण गरेको छ ।

सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको मानिन्छ । टोलीका सदस्यहरूले हुआनानको माछामासु बजारको पनि भ्रमण गरेको जनाइएको छ । उक्त बजार करिब एक वर्षदेखि सिलबन्दीको अवस्थामा छ ।

समाचार संस्था एएफपीका अनुसार सुरक्षाकर्मीले डब्लूएचओको अनुसन्धान टोलीका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए । टोलीमाथि चिनियाँ अधिकारीहरूले कडा निगरानी गरेका छन् ।

जनावरबाट मानिसमा कोरोना भाइरस कसरी सर्‍यो भन्ने अनुसन्धान गर्न डब्लूएचओको टोली वुहान पुगेको हो । अनुसन्धानका लागि खासै चासो नदेखाएको चीन बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि डब्लूएचओको टोलीलाई अनुसन्धानका लागि प्रवेश दिन बाध्य भएको हो ।

एएफपीका अनुसार भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लूएचओ टोलीको आकलन छ ।

वुहानबाटै फैलिएको भनिएको भाइरसका कारण विश्वभर २० लाख जनाभन्दा बढीको मृत्यु भइसकेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत वुहानको माछा बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ ।

चिनियाँ अधिकारीहरूले कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् ।

कोरोना भाइरसका कारण चीनमा ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । यद्यपि, उक्त तथ्यांकमाथि पश्चिमा देशहरूले आशंका व्यक्त गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.