काठमाडौं, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सही बिचार, सिद्धान्त र मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएका केपी ओलीको पक्षमा आम जनता र कार्यकर्ता रहेको बताउनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी पर्वत- काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै नेता बस्नेतले जनतामा लोकप्रिय बन्दै गएको नेकपा एमालेमा प्रचण्ड नामको कागती छिरेपछि कचौराको केही दुध फाटेपनि नेकपाको सम्पूर्ण पंक्ति एकढिक्का रहेको बताउनुभयो।

पार्टी एकता भएको तीन वर्षसम्म १० लाख पार्टी सदस्यता छाप्न नसक्ने प्रचण्ड देशको नायक होइन खलनायक हो, उहाँले भन्नुभयो, पार्टीको कार्यकारी अध्यक्ष बनाइएका प्रचण्डले आम कार्यकर्तालाई प्रशिक्षणमा नभई सामाजिक सञ्जालमा सिमित राखे। म अहिले ४२ दिनमा ३३ जिल्ला पुगेर कार्यक्रममा सहभागी भएँ। कार्यकारी अध्यक्ष प्रचण्डले तीन वर्षमा केपी ओलीविरुद्ध षड्यन्त्र बाहेक के गरेर ? नेता बस्नेतले केही सयको संख्यामा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकार र केपी नेतृत्वविरुद्ध भ्रम छर्न खोजेको आरोप लगाउनुभयो।

उहाँले पर्वत सम्पर्क मञ्चमा आबद्ध एक-दुई नटबोल्ट फुक्लिँदा केही फरक नपर्ने बताउँदै सच्चा कार्यकर्ताको उपस्थितिले आम कार्यकर्ता केपी ओलीको पक्षमा रहेको पुष्टि गरेको बताउनुभयो।
नेकपा नेता तथा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले १५ वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल पार्टी प्यालेसको अध्यक्ष हुन कुन नैतिकताले दिएको होला भन्दै प्रश्न गर्नुभयो। निर्वाचनमा हुँदैन भनेर जनतामा भ्रम छर्न खोजिएको भन्दै केपी ओलीकै नेतृत्वको नेकपाले चुनावमा गएर बहुमत ल्याउने बताउनुभयो। हामी तथ्य र सत्य लिएर जनतामा जानुपर्छ, उहाँले भन्नुभयो, केही स्वार्थी र कुन्ठा बोकेर बसेका व्यक्ति बाहिर हुँदा केही फरक पर्दैन। हामी डटेर सामना गर्नुपर्छ।

कार्यक्रममा बोल्दै निवर्तमान सांसद पदम गिरीले केपी ओली नेतृत्वको सरकारले गरेका कामदेखि आत्तालिएर नेकपाका केही नेता सरकार ढालेर देशलाई अनिश्चितता तिर धकेल्न खोजेकाले संसद विघटन हुने अवस्था आएको बताउनुभयो। नेकपा पर्वतका अध्यक्षसमेत रहनुभएका नेकपा केन्द्रीय सदस्य गिरीले केही नागरिक अगुवा भनिनेहरू संसद विघटन भएको चिन्तामा नभइ रत्नपार्कमा डलर डकारेको आरोप लगाउनुभयो।

उहाँले देश चुनावमय भएको अवस्थामा नेकपा प्रचण्ड-माधव नेपाल समुह चुनावमा जान खुट्टा कमाएको आरोप लगाउँदै यो विशिष्ट परिवेशमा सम्पर्क मञ्चको कार्यक्रममा भएको उपस्थितका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। भेलाले शिव पौडेलको संयोजकत्वमा १५१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ।

Leave a Reply

Your email address will not be published.