अमेरिका : ४६ औं राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाले लगत्तै अमेरिकामा रहेका गैरआवासीय नेपालीहरु खुसी भएका छन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले अध्यागमनमा नयाँ नीति लिने योजना बनाएसँगै ग्रिनकार्डको प्रतिक्षामा रहेका थुप्रै गैरआवासिय नेपालीहरु खुसी भएका हुन् । कार्यभार सम्हाल्नु अगाडिनै बाइडेनले अध्यागमनमा ब्यापक सुधार ल्याउने घोषणा गरेसँगै अमेरिकामा रहेका नेपालीलगायत अन्य समुदायका व्यक्तिहरु खुसी भएका छन् ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले जनवरी १, २०२१ अगाडि अमेरिका आइपुगेर बासोबास गरिरहेका काजपत्रबिहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने कार्यनीति बनाएका छन् । यसो भएमा अमेरिकामा रहेका करिब २५ हजार नेपाली प्रत्यक्ष लाभाविन्त हुनेछन् ।

बाइडेनले अध्ययागमन सुधारका क्रमको पहिलो चरणमा बाल्यकालमा अमेरिका आएका बालबालिकाहरु र अस्थायी अनुमतिपत्र पाएकाहरुलाई ग्रिनकार्ड दिने योजना बनाएका छन् । राष्ट्रपति बाइडेनको योजना अनुसार दोश्रो चरणमा बिभिन्‍न भिषामा आएका, मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका तथा क्षेत्रमा रहेकाहरुले अस्थायी प्रकारको ग्रिनकार्ड हुँदै आठ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्नेछन् ।

कानुन व्यवसायीका अनुसार अनुसार बाइडेनले भने अनुसार अमेरिकी संसदबाट विद्येयक पास भएमा टिपिएसमा रहेका करिब ९ हजार नेपाली र झिनो संख्यामा रहेका डाका अर्थात बाल्यकालमा अमेरिका प्रवेश गरेकाहरु पहिलो चरणमा लाभाविन्त हुने देखिन्छ । यस्तै बिभिन्‍न कारण देखाएर राजनीतिक शरणको माग गरिरहेका गैरआवासीय नेपालीहरुले दोश्रो चरणमा अमेरिकी ग्रिनकार्ड प्राप्त गर्नेछन् ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले अध्यागमनमा कडाइ गर्दै जारी गरेका थुप्रै विद्येयक बाइडेनले कार्यभार सम्हालेकै दिन उल्ट्याएका थिए । अमेरिकामा ग्रिनकार्ड प्राप्त गरिसकेका थुप्रै नेपालीहरुले परिवार तथा आफन्तका लागि दिएका आवेदनमा समेत पूर्वराष्ट्रपति ट्रम्पले रोक लगाएका थिए । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले ग्रिनकार्डको प्रकृयामा रहेकाहरुलाई बाइडेन प्रशासन आएसँगै सहज हुने संकेत देखिएको बताए ।

अमेरिकी अध्ययागमनमा कलम चलाउँदै आएका पत्रकार किशोर पन्थीले बाइडेनको बृहत अध्ययागमन विद्येयकले ग्रिनकार्डको प्रकृयामा रहेका धेरै गैरआवासीय नेपालीहरुलाई फाइदा पुग्ने बताए । उनले ग्रिनकार्डको अपेक्षामा रहेकाहरुका साथै परिवारमा आधारित, डिभी लगायतका भिषामा समेत थप हुने योजना बाइडेनको बिलले समावेश गर्ने बताए ।

संचारकर्मी शैलेष श्रेष्ठले बाइडेन प्रशासन गैरआवासीय नेपालीहरुका लागि सकारात्मक मात्रै होईन सहयोगी हुने बताए । आठबर्ष भित्रमा अमेरिकी नागरिकता दिने बाइडेनको रोड म्याप पारित हुनका लागि संसदको माथिल्लो सदन सिनेटमा ६० भोट आवश्यक पर्ने भएपनि रिपब्लिकनहरुसमेत अध्यागमनलाई सुधार गर्नुपर्ने पक्षमा रहेकाले बाइडेनको विद्येयक पास हुने श्रेष्ठको अनुमान छ ।

यदी बाइडेनले ल्याउने बिद्ययक पास भएमा अमेरिकी इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ । त्यसबेला राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याईएको थियो । उक्त बिद्ययक मार्फत ३० लाख काजपत्रबिहिनलाई ग्रिनकार्ड दिइएको थियो ।

 

Leave a Reply

Your email address will not be published.

You missed