चितवन, २९ पुष । भरतपुर महानगरपालिकाले चालु आर्थिक बर्षकालागि बिनियोजन गरेको २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँ बजेट बिनियोजन गर्यो । महानगरले चालू आर्थिक वर्षमा चालूतर्फ २७.६८ प्रतिशत र पुँजीगततर्फ २१.१५ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।

महानगरले चालूतर्फ एक अर्ब ८७ करोड ६६ लाख ८ हजार र पुँजीगततर्फ दुई अर्ब २७ करोड ९८ लाख ८० हजार ४ सय रुपैयाँ बजेट विनियोजन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । यसरी हेर्दा चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको झण्डै ८० प्रतिशत विकास बजेट खर्च गर्न बाँकी देखिन्छ । तर पनि महानगरपालिकाले सातौ नगरसभा मार्फत पुरक बजेट ल्याएको छ ।

 

भरतपुर महानगरपालिकाले ५६ करोड ४२ लाख २५ हजार रुपैयाँको पुरक बजेट ल्याएको हो । महानगरले पत्रकार सम्मेलन मार्फत जनताबाट थप विकासका कामका लागि दवाव आउन थालेपछि पुरक बजेट ल्याएको बताएको छ । मेयर रेणु दाहालका अनुसार नया कार्यक्रम थप गर्नु पर्ने भएको र पुरक बजेटको मध्यमबाट जनअपेक्षालाई सम्बोधन गर्न सहयोग पुग्ने भएपछि पुरक बजेट ल्याईएको हो ।

महानगरपालिकाले ल्याएको पुरक बजेटको साढे तीन करोड रुपैयाँ चालू खर्चमा र बाँकी पूर्वाधार विकास, शिक्षा र वातावरण तथा विपद व्यवस्थापनमा खर्च गरिने मेयर दाहालले जानकारी दिईन् । पुरक बजेटबाट सबै भन्दा धेरै रकम १३ करोड रुपैयाँ सामपूरक साझेदारी कोषमा र ९ करोड रुपैयाँ विशेष आकस्मिक कोषमा राखिएको छ । सोही बजेटबाट ४ करोड रुपैयाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दिने तय भएको मेयर दाहालले बताइन् । बाँकी बजेट कल्भर्ट निर्माण, सडक कालापत्रे तथा ग्राभेल, वडा कार्यालय निर्माण, मर्मत देखि मठमन्दिर निर्माणसम्मका लागि छुट्टाइएको छ ।

महानगरको राजश्व संकलनमा कमी

गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा ४ दशमलव ४१ प्रतिशत राजश्व संकलनमा कमी आएको हो । महानगरपालिकाका अनुसार चालु आर्थिक बर्षको ५ महिनाको तुलनामा ९८ लाख ३३ हजार ४ सय ३६ रुपैयाँले कमी आएको हो । आन्तरिक आम्दानी ९० करोड अनुमानित गरिएकोमा २२ करोड २७ लाखमात्र संकलन भएको छ ।

महानगरले घरबहाल करबाट ४ करोड, नक्सापास दस्तुरबाट ७ करोड, एकीकृत सम्पति करबाट ४ करोड, व्यवसाय दस्तुर तर्फबाट ६ करोड, विभिन्न सिफारिस दस्तुरबाट ७ करोड, ढुंगा गिट्टीबाट ६ करोड र अन्य क्षेत्रबाट ४० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर महानगरपालिकाले राजश्व संकलन गर्ने योजना बनाएपनि भएको रकम फ्रिज हुने गरेको छ ।

आर्थिक बर्ष २०७६/०७७मा १ अर्व २ करोड ७७ लाख ६१ हजार ६ सय रुपैयाँ फ्रिज गरि महानगरले संचित कोषमा फिर्ता गरेको थियो । भरतपुर महानगरपालिकाले आफ्नै लगानीमा सात वटा गौरवका आयोजना सञ्चालन गरेको छ । भरतपुर मेट्रो प्लाजा, भरतपुरका विभिन्न खानेपानी आयोजना, मेयरसंग महिला तथा जोखिममा परेका समुदायसंग कार्यक्रम, कृषि विकासका लागि यान्त्रिकरण, नारायणी नदी किनारलाई आधुनिक मोडेल, यातायात कार्यालय स्थापना छन् ।

यस्तै, महानगरपालिकाको समन्वयमा हुलाकी सडक, भरतपुर विमानस्थल, चौविसकोठी मेघौली सडक, सिटी हल, पुलचोक गोन्द्राङको सडक विस्तार, स्मार्ट सडकबत्ती, महानगरिय रिङरोड लगायतका योजना सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published.