१६ पुष, काठमाडौं । पछिल्लो चरणमा सरकारी जागिरप्रति युवाहरूको रोजाइ बढ्दै गएको छ । जागिर खानेका लागि पहिलो रोजाइ नै सरकारी जागिर हुने गरेको छ ।

राज्यले विभिन्न सेवा आयोगमार्फत दक्ष जनशक्तिलाई सरकारी मातहतमा पुर्याएको छ । यसरी नै प्रहरी सेवा आयोगले पनि दक्ष र क्षमतावान् युवाहरूलाई प्रहरीमा भर्ती गर्दै आएको छ ।

प्रहरीमा भर्ती हुनाका लागि युवाहरूको आकर्षण जसरी बढेको देखिन्छ । त्यसरी नै जागिरमा प्रवेश गरेपछिको आकर्षण देखिँदैन । त्यतिमात्रै होइन, उनीहरू जागिर खाए पनि सन्तुष्टि हुँदैनन् ।

जागिर खाएको एक वर्ष नपुग्दै बीचमै राजीनामा दिने, छोड्ने जस्ता कार्य गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । यस तथ्याङ्कलाई हेर्ने हो भने बीचमै राजीनामा दिने प्रहरी कर्मचारीको संख्याले प्रहरी संगठनप्रति निराशा छाएको छ ।

प्रहरी मुख्यालयका अनुसार पछिललो चार वर्षमा नेपाल प्रहरीतर्फ डीआईजीदेखि सिपाही र प्रहरी कार्यालय सहयोगीसम्मका झन्डै ७ हजार ८२७ जनाले राजीनामा दिएका छन् ।

आर्थिक वर्ष ०७४÷७५ मा २ हजार ५६४ जनाले राजीनामा दिएका थिए । आर्थिक वर्ष ०७५/७६ मा ३ हजार ७३ जनाले बीचमै जागिर छाडेका छन् ।

त्यसैगरी आर्थिक वर्ष ०७६/७७ मा २ हजार ७७ जना प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ११३ जनाले राजीनामा दिएका छन् ।

प्रहरी मुख्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी), २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी रहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा ३ एसपी, ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् ।

२०७६/०७७ मा १ एसपी, ३ डिएसपी, ११ इन्स्पेक्टर, १२९ सई, ३२३ असई, १३२७ प्रहरी हवलदार, २३४ प्रहरी जवान र ४८ जना कार्यालय सहयोगी छन् ।

त्यसैगरी चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ इन्स्पेक्टर, २ सई, १६ असई, ७१ हवलदार, १४ प्रहरी जवान र ८ जना कार्यालय सहयोगीले राजीनामा दिइसकेका छन् । जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवलदार छन् । पछिल्लो चार वर्षको अवधिमा ५ हजार २ सय ८७ जनाले राजीनामा दिएका छन् ।

पछिल्लो ४ वर्षको तथ्याङ्क हेर्दा सेवा अवधिको बीचैमा दैनिक ५ जना प्रहरीले राजीनामा दिने गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बीचैमा जागिर छाड्नुको कारण अपर्याप्त सेवा सुविधा, लामो समयसम्म बढुवा रोकिनु नै हो । संगठनमा कार्यक्षमताका अधारमाभन्दा पनि शक्तिको आड र राजनीतिक आश्रय पाएकाले अवसर पाउने प्रवृत्तिले हाबी हुँदै गएकोले निराशा रहेको एक प्रहरी अधिकारीहरू बताउछन् ।

कतिपयले भने प्रहरीमा भन्दा राम्रो अवसर पाएर विदेश जानका लागि पनि बीचैमा जागिर छाडिरहेको प्रहरी प्रवक्ता बसन्त कुँवरको बताए । यसले प्रहरी संगठन र सिंगो राष्ट्रलाई नै नराम्रो प्रभाव परेको प्रवक्ता कुँवर बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published.