काठमाडौं, १६ पुस । किरात विद्यार्थी समन्वय समिति काठमाडौं, किरात राई विद्यार्थी संघ, लिम्बुवान विद्यार्थी मञ्च, सुनुवार विद्यार्थी समाज र किरात याक्खा बिद्यार्थी संघले आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुन गइरहेको १२औँ राष्ट्रिय जनगणना–२०७८ मा उत्साहपूर्वक सहभागी हुन आफ्नो समूदायलाई संयुक्त रूपमा अपील गरेको छ ।

आज (बिहीबार) काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो अपील गरेका हुन् । उनीहरुको अपीलमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–साँस्कृतिक विशेषतालाई आत्मसात गर्दै समावेशी र समतामूलक समाजको निर्माणार्थ संकल्पित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालका हामी किरात, सुनुवार, राई, लिम्बु, याक्खालगायतले विगतमा सम्पन्न राष्ट्रिय जनगणनामा सहभागिता जनाइ आफ्नो जनगणना गराउँदै आइएको जानकारी सबैमा सर्वविदितै छ ।

 

यसै सन्दर्भमा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी वि.सं. २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्ममा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा हामी सबैले हाम्रो वास्तविक मौलिक पहिचानसहितको तथ्यांक टिपाएर राष्ट्र, समाजलाई सहयोग गर्नु पर्ने जिम्मेवारी आएको छ ।’

कार्यक्रममा बोल्दै किरात बिद्यार्थी समन्वय समिति काठमाडौँ संयोजक तथा किरात राई बिद्यार्थी संघ अध्यक्ष रामचन्द्र राईले चारवटा विद्यार्थी संगठन मिलेर किरात बिद्यार्थी समन्वय समिती बनाएर आफूहरुले कार्यगत एकता गरेको सुनाए ।

उनले भने, ‘हाम्रो अस्तित्व जोगाउन र हाम्रो पहिचानको लागि सरकारसँग संघर्ष गरिरहेका छौं । जनगणना विभागसँग सही तथ्यांक लेखाउन र टिपाउनको लागि हामी त्यहाँ उपस्थिति हुनेछौं । तथ्यांक मिथ्यांकमा परिणत नहोस् । नेपाल सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्यालले १२आँै राष्ट्रिय जनगणनामा सहभागी हुन सबैमा हार्दिक अपील गरेका छन् । उनले भनेका छन्, ‘आदिबासी जनजातिको महत्व भनेको जातजाती, भाषा र धर्मको महल हो ।

नेपाल सरकार र स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन र झकझकाउन जरुरी छ। स्थानिय सरकार, संघीय सरकार, प्रदेश सरकार र तथ्यांक विभागले सही गणना गरोस् । तथ्यांकमा हाम्रो अनुहार देखिएको छैन । झेली प्रक्रियाबाट सरकारले हामीलाई छलेको छ ।’

त्यस्तै, सुनुवार बिद्यार्थी समाजका अध्यक्ष सागर सुनुवारले आफूहरुको गणनालाई राज्यले वास्तविक रुपमा नगरेको गुनासो पोखे । ‘राज्यले कुनै पनि नीति नियम बनाउँदा जनगणनाको आधारमा गरिरहेको छ, जनगणनामा सही तथ्यांक संकलन हुन अनिवार्य छ’, उनले भने ।

उक्त कार्यक्रममा किरात बिद्यार्थी समन्वय समिति काठमाडौँ संयोजक तथा किरात राई विद्यार्थी संघ अध्यक्ष रामचन्द्र राई, किरात राई विद्यार्थी संघ सचिव अशोक राई, सुनुवार विद्यार्थी समाजका अध्यक्ष सागर सुनुवार, किरात याक्खा विद्यार्थी संघका अध्यक्ष भरत याक्खा, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष दिपा लक्सम, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्याल लगायतको उपस्थिति रहेको थियो ।

apil final

 

Leave a Reply

Your email address will not be published.