काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे ।

यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वाेच्च अदालतमा विचारधीन छ । उनले यस स्थितिमा अर्काे सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे । “म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउनुस्. चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ ।”

प्रधानमन्त्री ओलीको प्रश्न थियो, “के चुनावमा जाँदा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता सङ्कटमा पर्छ र ? झन् बलियो हुने होइन र ?” विपक्षी समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे । नेकपाभित्रको विवादका प्रसङ्गमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्काे पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरे ।

अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आपसमा अन्तरविरोध भए पनि चुनावमा मिलेर जान प्रस्ताव गर्दा उनले अस्वीकार गरेको सुनाए । ओलीले भने, ‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, वहाँले सहमति कार्यान्वयन गर्नुभएन ।’

उनले एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाइ ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे । ओलीले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर, वहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो ।’

‘मैले मित्रताले अँगालो हाले वहाँले ध्रीतराष्टले जसरी हाल्नुभयो,’ ओलीले भने, ‘शुरुदेखि वहाँको ध्यान पार्टी कब्जा गर्ने र हत्याउनेमा नै रहेछ ।’ आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप थियो । ‘तीन वर्षमा मेरो धेरे साबुन, स्याम्पु र ट्याङ्करको पानी सकियो । वहाँहरु सुध्रिनु भएन ।’ अध्यक्षले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे ।

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम, केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माण हुने अठोट व्यक्त गर्दै विभिन्न विमानस्थल र पूर्वाधार विकास÷निर्माण तीव्र गतिले भइरहेको बताए । उनले भने, “नयाँनयाँ काम भइरहेको छ । औद्योगिक क्षेत्रको विकास गरिएको छ । एकै दिनमा ३०० भन्दा बढी अस्तपाल उद्घाटन गरेका छौँ । जनता आवास निर्माण, विद्यालय र अस्पतालको पुनः निर्माण, कृषिको आधुनिकीकरणजस्ता धेरै क्षेत्रमा प्रगति हासिल भएको छ । भएको कामलाई पनि नदेख्ने दृष्टिदोष भएकाबारे म टिप्पणी गर्न चाहन्न ।

“हाम्रो काम भत्काउने होइन, देश बनाउने हो । हामीले अब आन्दोलन र पार्टी जोगाउनुपर्छ । तपाईँहरु अघि बढ्नुस्, मेरो शुभकामना छ”,उनले भने । सो अवसरमा नेकपाका नेता लेखराज भट्टले सडकमा गएर पार्टी एकता नहुने जनाउँदै चुनावको तयारीमा लाग्न सबै दललाई आग्रह गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले ओली नेतृत्वको नेकपामा ‘लिगेसी’ रहेकाले यस पक्षमा लाग्न आह्वान गर्दै सडकमा विरोधका नारा नउठाई सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानलाई साथर्क बनाउनुपर्नेमा जोड दिए । नेकपाका केन्द्रीय सदस्य कर्णबहादुर थापाले सत्ताका लागि भन्दा पार्टी एकतामा आबद्ध हुन आग्रह गरे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिं ठगुन्ना र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले अघि सारेका विकासनिर्माणका कामलाई थप अघि बढाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published.