विराटनगर । विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बुधबार) आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

यसकै विषयमा छलफल गर्न उक्त समूहले दिउँसो १२ बजे पेसिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ । बैठकपछि संघर्षका थप कार्यक्रम घोषणा गरिने नेताहरुले बताएका छन् । नेता योगेश भट्टराईले बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला पनि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने बताए ।

वृहत भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको छलफल चल्नेछ। पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जानकारी भट्टराईले दिए । उक्त समूहले आन्दोलन र संघर्षका थप कार्यक्रम दिउँसो ३ बजे घोषणा गरिने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै सत्तारुढ नेकपा विभाजित भएको छ । त्यसको विरोधमा दाहाल र नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । मंगलबार त्यही समूहले देशभर विरोध प्रदर्शन गरेको थियो । कांग्रेस लगायतका अन्य दलले पनि संसद विघटनको विरोधमा आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.