काठमाडौं, ९ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका शीर्ष नेताहरुले बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् । पुष ७ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक विहीबार (आज) सम्पन्न भएपछि बल्खु पुगेका दाहाल–नेपाल समूहका शीर्ष नेताहरुले यस्तो घोषणा गरेका हुन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, अमृतकुमार बोहोरालगायत बल्खु पुगेका हुन् । उनीहरुले त्यहाँ रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।

 

तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो, जहाँ अहिले भग्नावशेष मात्र छ । उनीहरुले उक्त ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको बताउँदै पार्टीको भवन बनाउने बताएका हुन् ।

अध्यक्ष नेपालले नेकपाको मूल शक्ति आफूहरु भएको दाबी गरेका छन् । त्यस्तै, उनले यसमा अरु कसैको दाबी हुन नसक्ने बताउँदै नेकपाबाट चोइटिएर जाने खोज्नेले गल्ती स्वीकार गरे स्वागत गर्ने समेत बताए ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देश अनिश्चितताको भूमरीमा परेको बताए । प्रतिनिधिसभालाई कुनै पनि तानाशाही तरिकाबाट विघटन गर्न नपाइने बताउँदै राजाको निरंकुश कदम जस्तै प्रतिगामी भएको बताए ।

त्यस्तै, अध्यक्ष पुष्पकमल दाहालले भने सबैलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.