एजेन्सी, ७ पुस । हालै बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार (स्वरूप) लाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएकाे छ । नयाँ स्वरूप शक्तिशाली भएकाे भन्दै यसबाट बच्न थुप्रै देशले बेलायत यात्रामा प्रतिबन्ध लगाइरहेका छन् । अहिलेसम्म ४० भन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।

यसका साथै अन्य युराेपेली मुलुक डेनमार्क, इटली र नेदरल्यान्ड्स तथा अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको बताइएकाे छ ।

विज्ञहरूका अनुसार कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक रहेकाे देखिए पनि थप घातक रहेको प्रमाण भने फेला परेको छैन । बेलायतको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भमा ध्यान दिनू भनेको कुरा बिबिसीले लेखेकाे छ ।

फ्रान्स सरकारले त बेलायतबाट आफ्नो देश आउने यात्रु तथा कार्गोमाथि समेत प्रतिबन्ध लगाएको छ, जसका कारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन् । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः शुरू गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको र समस्या चाँडै समाधान हुने बताएका छन् ।

यसैगरी हाम्रै छिमेकी मुलुक भारतले समेत बेलायतबाट हुने यात्रामा कडाइ गरेकाे छ । उता इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।

 

काेराेनाकाे नयाँ स्वरूप र थप नयाँ लहरहरू फैलिने चिन्तामा विभिन्न देशहरू रहेका बेला नेपालमा भने यसप्रति लापरबाही झनै बढिरहेकाे छ । पछिल्लाे समय मानिसहरू काेराेनासँग डराउन छाडेकाे भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता गरिरहेका छन् । मुलुकका सार्वजनिक स्थल एवं यातायातजस्ता सेवा क्षेत्रमा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियम तथा मापदण्ड पालना हुन छाेडेकाे छ ।

जाडाे याममा कोरोनाभाइरस संक्रमणको जोखिम बढी हुन सक्ने विज्ञहरूले बताइरहँदा र यसकाे जाेखिम हटिनसकेको अवस्थामा जनस्वास्थ्यको नियमको कडाडका साथ पालना गर्नुपर्छ भन्नेमा मानिसहरू गम्भीर छैनन् । यसले गर्दा नेपालमा काेराेनाकाे नयाँ लहर त फैलने हैन भन्ने चिन्ता व्याप्त छ ।

Leave a Reply

Your email address will not be published.