एजेन्सी, १५ मंसिर । इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट भएकाे छ । स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन् ।
हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको स्थानीय मिडियाहरूले जनाएका छन् । साथै पर्यावरणीय सन्तुलनमा यसले गम्भीर असर पार्ने बताइएको छ ।
ज्वालामुखीबाट निस्किएको धुवाँले ४ हजार मिटर उचाइसम्म आकासमा ढाकेको छ । जसले गर्दा आसपासका मानिसहरुलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ ।
ज्वालामुखी विस्फोटका कारण २६ गाउँका २ हजार भन्दा बढी घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन् । विस्फोटबाट मानवीय क्षति नभए पनि आसपासका मानिसहरुलाई सावधान रहन आग्रह गरिएको छ ।
साथै विस्फोटको २ किलोमिटर वरपरसम्म कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । इन्डोनेसियाको ग्रामिण भेगमा यसअघि पनि ठूला ज्वालामुखी विस्फोट हुँदा थुप्रै मानिस विस्थापित हुनुपरेको थियो ।