पाँचथर / भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्ग ज्यूले पाँचथरको फालेलुङ गाउँपालिका–४ (गोर्खेपानी) फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) उद्घाटन गरेका छन् । बीओपी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले सरकार मुलुक र जनताको सुरक्षामा अत्यन्तै संवेदनशील रहेको बताए । उनले भने एकैसाथ सयौँ बीओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालिएको छ ।

मन्त्री नेम्बाङ्गले सिमित स्रोत साधनको बाबजुद धेरै बीओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सवल बनाउन, छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताए । पाँचथरका प्रतिधिनिसभा सदस्य समेत रहनुभएका मन्त्री नेम्बाङ्गले सरकारले पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालेको पहल दूरगामी महत्वको रहेको बताए ।

एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसीटी ल्याब स्थापना गरिनु लगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उनले उल्लेख गरे । मन्त्री नेम्बाङ्गले (बीओपी) सहित सुरक्षा निकायलाई प्रविधि र पूर्वाधारयुक्त बनाई सुरक्षा निकायलाई सवल बनाउने उल्लेख गरे ।

मन्त्री नेम्बाङले सरकार महामारीका बीच पनि समस्याग्रस्त क्षेत्रको सुधार गर्दै, पूर्वाधार विकास गर्दै समृद्धिको यात्रामा रहेको र आम नेपालीले यहि चाहेको भन्दै नेपाल कम्युष्टि पार्टी (नेकपा) विभाजन नहुने स्पष्ट पारे । उद्घाटन भएको बीओपीमा १९ जना सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं. गुल्म फिदिममा प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

मन्त्री नेम्बाङ्गले आजै याङवरक गाउँपालिका स्थित थर्पूमा स्वास्थ्यचौकी, फालेलुङ गाउँपालिका ५ स्थित प्राङबुङ्गका विद्यालयमा आइसीटी ल्याब तथा स्वास्थ्यचौकी र लुङरुपामा विद्युतिकरणको उद्घाटन गरेका छन् । उनले विकास निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवा प्रवाह एवम नागरिकको समस्याहरुको विषयमा स्थानीयसंग छलफल समेत गरे ।

Leave a Reply

Your email address will not be published.