काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका अर्बपति पूँजीपति हुन् । अर्बपति भएकै कारण उनले चुनाब जितेका हुन् । किनकी पूँजीवादमा सिद्धान्तप्रतिको निष्ठा र आदर्शले होइन पैसा खचै गर्न सक्नेले नै चुनाब जित्ने हो ।

अन्तराष्ट्रिय राजनीति र आफ्नै एकलकाँटे र विवादित निर्णयले पटकपटक विवादमा आएका पात्र हुन् ट्रम्प । केही महिनाअघि उनकी दिदीले उनलाई कोरोना भाइरसका बारेमा उनले दिएको अभिव्यक्ति झुठ भएको भन्दै आलोचना गरेकी थिइन् ।

यसपटक भने ट्रम्पकी भतिजी मेरी ट्रम्पले उनी विरूद्ध बिहीबार पैत्रिक सम्पतिमा डोनल्डले आफूलाई ठगेको भन्दै मुद्धा दायर गरेकी छिन् । मेरी डोनाल्डका जेठा दाजू फ्रेड ट्रम्प जुनियरकी छोरी हुन् । मेरीले डोनाल्ड ट्रम्पसँगै परिवारका अन्य सदस्यमाथि पनि दशौंलाख अमेरिकी डलर बराबरको पैत्रिक सम्पतिमा आफूलाई ठगेको भन्दै मुद्धा दायर गरेको समाचार रोयटर्सले जनाएको छ ।

सो मुद्धामा मेरीले डोनाल्डसहित ट्रम्पकी दिदी मैरिएन ट्रम्प ब्यारी र उनका दिवगंत भाई रोबर्ट ट्रम्पविरूद्ध आफूलाई व्यापक धोका दिएको तथा नराम्रो व्यवहार गरेको आरोप लगाएकी छिन् ।

उनले आफ्ना हजुरबुवा फ्रेड ट्रम्प सिनियर निर्माण गरेको घर जग्गा साम्राज्यको नियन्त्रण कब्जा गरेर सोको फाइदा आफूहरू मात्रले लिई शोषण गरेको आरोप लगाएकी छिन् । ट्रम्पका बाबुको सन् १९९९ मा निधन भइसकेको छ । मेरीको आरोपमा डोनाल्ड ट्रम्पका वकिलमध्येका एक जे सेक्यूलोले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

मेरीले म्यानह्याटस्थित न्यू योर्क स्टेट अदालतमा मुद्धा दायर गरेकी हुन् । मुद्धामाथि प्रतिक्रिया जनाउँदै ह्वाइट हाउसका सञ्चार सचिव केली म्याकीनानीले आफन्तलाई आक्षेप लगाएर मेरीले आफूलाई बदनाम गरेको प्रतिक्रिया दिएकी छन् । आगामी अमेरिकी राष्ट्रपति चयन हुन ६ साता बाँकी रहेको सन्दर्भमा यसले मानिसहरूको ध्यान आकृष्ट गरेको छ । चुनावबाट ट्रम्प पुनः अमेरिकी राष्ट्रपति बन्ने दाउमा छन् ।

पेसाले मनोवैज्ञानिक रहेकी मेरी ट्रम्पले आफू १६ वर्षको हुँदा सन् १९८१ मा दिवगंत पिता फ्रेड ट्रम्प जुनियरले पारिवारिक व्यवसायमा रहेको मूल्यवान हिस्सा उनका लागि छोडेको तर सोको रेखदेख गर्ने जिम्मा पाएका ट्रम्प, रोबर्ट र मैरिएनले पाएको बताएकी छिन् ।

तर उनीहरूले त्यसको अनुचित फाइदा उठाउँदै उनको अधिकार रहेको हिस्सालाई अन्यत्र सारेर सो सम्पतिमा उनको हक कति हो भन्ने कुरामा धोका दिदैं सोबाट बेदखल गरेको बताइन् । ५५ वर्षीय मेरीका अनुसार उनले सो धोकाका बारेमा सन् २०१८ को अक्टुबरमा मात्र थाहा पाएकी थिइन् ।

न्यूयोर्क टाइम्सले ट्रम्प परिवारको करहरूका बारेमा गरेको एक अनुसन्धान रिपोर्ट प्रकाशित गरेपछिमात्र पैत्रिक सम्पतिमा आफू ठगिएको बारेमा आफूलाई ज्ञात भएको उनको भनाइ छ । मेरीका वकिलले उपलब्ध गराएको बयानमा मेरीले गोप्यरूपमा आफ्नो परिवारले आफूमाथि ठगी गरेको बताएकी छिन् । पैत्रिक सम्पतिका बारेमा झुठपछि झुठ बोलेर पाउनुपर्ने सम्पतिबाट च्यूत गराइएको उनको दाबी छ ।

आफ्नो मृत्यु हुनुभन्दा अगाडि अगष्टमा रोबर्ट ट्रम्पले मेरीले लेखेको संस्मरण प्रकाशन हुन नदिने असफल प्रयासको नेतृत्व गरेको रोयटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.