सायद मायाको परिभाषा जति गरेपनि कहिल्यै सकिँदैन । माया त्यस्तो चीज हो जो अजम्बरी मात्र होइन सदाकोलागि असिम हुन्छ । जसले साँचो र पवित्र मायालाई बुझ्न सक्छ उसले जीवनमा कहिल्यै पनि माया बिना तड्पिनु पर्दैन । माया जो बुवा–आमासँग गर्न सकिन्छ । श्रीमान–श्रीमती र सन्तानलाई गर्न सकिन्छ या त एउटा प्रेमीले आफ्नो प्रेमिकालाई माया गर्न सक्छ । या त मानव भएको नाताले मानवीय माया र प्रेम गर्न सक्छ । तर मायामा विश्वास, त्याग, समर्पण र निःस्वार्थ भावना भने हुनुपर्छ ।

जसले साँचो प्रेम गरेको हुन्छ उसलाई जति नै दुःख पीडा दिएपनि उसले कहिल्यै गुनासो गर्दैन र नराम्रो पनि सोंच्दैन, बस तपाईंको खुशीमा उसले आफ्नो जीवन बिताई दिनसक्छ । त्यसैले त भन्ने गरिन्छ माया कुनै जातभात हुँदैन । त न उमेरले नै छेकबार गर्छ । त्यो माया एउटा सानो बालकले आफ्नो हजुरआमालाई गर्न सक्छ या त एउटा वृद्ध हजुरबुवाले आफ्नो नातीलाई पनि प्रेम गर्न सक्छ । किन कि हृदयदेखि आएको सच्चा प्रेमलाई कसैले रोक्न चाहेर पनि रोक्न सक्दैन यो नै प्रकृतिको नियम हो ।

 

तर आजभोलि हाम्रो समाज दिनप्रति दिन साँघुरो घेराको फन्दामा पर्दै गएको छ, जहाँ प्रेमको नाममा देखावटीपन देखिन्छ ।

 

जुन प्रेम साँचो हुँदैन केवल स्वार्थीपन मात्र लुकेको हुन्छ । जसले गर्दा आज आफैले जन्म दिएको सन्तानले आफ्ना बाबा–आमालाई माया ममता स्नेह दिनुको साटो वृद्धवृद्धा बाबु–आमालाई वृद्धाश्रम पुर्याउन समेत पछि परेका छैनन् । तर पनि ती वृद्ध बाबु–आमाले आफ्ना सन्तानको खुशीका लागि कहिल्यै पनि गुनासो गर्दैनन् । बस उनीहरुले जे जस्तो हालतमा जीवन बिताउनु परेपनि आफ्ना सन्तानलाई आफ्नो मुटुमा सजाई रहेका हुन्छन् । हामी सबैलाई थाहा भएकै कुरो हो ।

आज कतिपय वृद्ध आश्रम र शहरका चोक र पेटीहरुमा बसेर पीडादायी जीवनयापन गरिरहेका वृद्धवृद्धाहरुका सन्तानहरु कोही यो देशकै ठूला नेता भएका छन् कोही डाक्टर, इन्जिनियर र सरकारी कर्मचारी भएका छन् तर आज तिनै ठूला भनाउँदाहरुका वृद्धवृद्धा बाबु–आमा आश्रमको कुनै कुनामा दुःखदायी जीवन बिताइरहेका छन् तर पनि उनीहरु आफ्ना सन्तानलाई कहिल्यै नराम्रो होस भनेर गुनासो गर्दैनन् । जहाँ मनदेखि आएको साँचो प्रेम हुन्छ त्यहाँ अरुले जति नै पीडा दिएपनि कहिल्यै उनीहरुकोलागि कुभलो सोच्ने गर्दैनन् । माथि भन्न खोजिएको विषय हामी जो कोही मानवजातिको जीवनमा लागु हुनसक्छ ।

 

यति मात्र कहाँ हो र प्रेम भन्ने चिज यस्तो चिज हो जसले मानिसलाई ज्यान पनि दिन्छ र ज्यान पनि लिनसक्छ ।

हाम्रो समाजलाई पुनराअवलोकन गरेर हेर्ने हो भने यसभित्र हामी कोही पनि चोखो छैनौं किन कि कहीँकतै कुनै न कुनैरुपमा हामीले चाहे आफ्नै सन्तानबाट होस या सन्तानले आफ्ना बाबु–आमाबाट होस या एउटै पेटबाट जन्मिएका दाजूभाई दिदी–बहिनी होस या त एउटा प्रेमी र प्रेमिका बिचमा भएको प्रेमबाट पनि थाहा पाउन सक्छौं । तर पनि मानिस यो संसारको सर्वश्रेष्ठ प्राणी भएको हुनाले मानिस भित्र सोच्न सक्ने चेतना छ । त्यही चेतनाले गर्दा मानिसले यो संसारमा कर्म गरेर आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छन् तर पनि आफ्नो लक्ष्यमा पुग्दै गर्दा आफ्ना वरिपरीका मानिसहरुलाई कदापि बिर्सिनु हुँदैन ।

अझ जसले बढी माया प्रेम र विश्वास गर्दछ त्यस्ता आफन्तजनहरुलाई कहिल्यै पनि दुःखी बनाउनु हुँदैन । जब मानिसलाई भोक लाग्छ उसले आफ्नो आत्माले मागे जति पेटभरी खाना खाने गर्दछ । त्यसैले कोही पनि डराउनु पर्दैन किन कि हरेक मानिस संसारको एउटा सक्षम तारा हो भगवान (प्रकृति)ले सबै मानिसलाई गरिखाने क्षमता दिएर पठाएको हुन्छ कुनै दिनदुःखीलाई या त अफ्ठयारामा परेका मानिसलाई सहयोग र मानवताको नाताले माया गर्दैमा उसले तपाईंको भाग खाइदिन्छ भनेर सोंच्नु मुर्खता हो ।

यस्तो काम तपाईं हामी सचेत व्यक्तिबाट कदापि हुनुहुँदैन । मानिसको जीवन हो उतारचढाव आइनै रहन्छ तर आफ्नो मनमष्तिक भने सदाबहार सकारात्मक र आत्मबल उच्च राख्न सक्नुपर्छ । किन कि दुनियाँले जे जस्तो समस्या र बाधा अड्चन गरे पनि, आफ्नै नजिककाले दुःख दिए पनि तर तपाईंको दिलदिमाग भने सदा प्रेमिल र सकारात्मक हुनुपर्छ । अनि मात्र तपाईंले जीवनमा जहाँ जुन ठाउँमा बसे पनि सफलता हासिल गर्न सक्नुहुन्छ ।

जीवन बदल्ने १५ सकारात्मक प्रेरणादायी भनाईहरु

१) कुनै मानिसलाई समस्या परेको बेला तपाईले उसलाई सुझाव मात्र होइन त्यो बेला तपाईले साथ दिनुपर्छ किन कि कहिलेकाही सुझावले मात्र काम नगर्न सक्छ तर तपाईको साथले उसको काम सफल हुन सक्छ । उसको काम सफल हुनु भनेको तपाईकोलागि पनि राम्रो हुनु हो र एउटा मानवीय धर्म पनि हो ।

२)निरासाले मानिसको जीवन समाप्त पार्न सक्छ त्यसैले सधैं आशाबादी हुनुपर्छ । किनकि जब तलाउमा पानी भरिन्छ तब माछाले किरालाई खाने गर्छ तर जब तलाउमा पानी सुकेर जान्छ तब त्यही माछालाई किराले खाने गर्छ । पृथ्वी गोलो छ आशाबादी भएर निरन्तर आफ्नो काममा लागि रहयो भने एकदिन सफलता पक्कै तपाईको हातमा आउनेछ । त्यसैले तपाईमा जस्तोसुकै कठिनाई आएपनि सहन गर्न सक्ने आत्मविश्वास र सकारात्मक सोंच हुन जरुरी छ ।

३) यदि तपाई आफ्नो लक्ष्य प्रति पागल हुनुहुन्छ त्यो राम्रो पक्ष हो । किन कि इतिहास पागलहरुले रच्ने गर्छन् र बुद्धिमानीहरुले पढ्ने गर्छन्, त्यसैले ईतिहास रट्ने हैन, इतिहास रच्ने काम गर्नुहोस् । मानिसले चाहे भने असम्भव भन्ने यो संसारमा केही पनि छैन । मात्र आफ्नो कामलाई दिलोज्यान लगाएर फोकस गर्नुहोस् । जब तपाई आफ्नो लक्ष्यमा कटिबद्ध भई लाग्नु हुन्छ तब तपाईको जीत निश्चित छ भनेर आत्मादेखिनै विश्वास पनि गर्नसक्नुपर्छ । किनकि सफलता र जीतको मुख्य जड भनेको आफूले आफूलाई विश्वास पनि गर्नु हो ।

४) मृत्य पछि तपाईको आफ्नो नजिकको मान्छेहरु केवल मसानघाटसम्म मात्र हुन्छन् तर तपाईको कर्म मात्र यस्तो चिज हो जुन भगवानको अन्तिम निर्णयसम्म पनि तपाईको साथमा हुन्छ । त्यसैले आफू बाँचुन्जेल सत्कर्म गर्नुहोस् । तपाईको कामलाई यो संसारको मानिसलेमुल्यांकन नगरेपनि भगवानको नजरबाट तपाईको उच्च मूल्यांकन हुनेछ । किनकि यो संसार सत्यमा टिकेको छ र अन्तिममा ढिलोचाँडो सत्यको जीत हुनेछ ।

५) यदि खेतमा समयमा बाली लगाइएन भने प्रकृतिले त्यसमा घाँस उब्जाईदिन्छ, ठिक त्यसैगरी यदि दिमागमा सकारात्मक सोंच भएन भने नराकात्मक सोंचहरुले आफ्नो ठाउँ बनाईदिन्छ । त्यसपछि मानिस मानिस हुदैन । मानिस नकारात्मक सोंचले गर्दा जनावर भन्दा पनि तल्लो स्तरमा काम गर्न पुग्दछ । त्यसैले हरदम सकरात्मक सोंचको विकास गर्ने प्रयास गर्नुहोस् र आफूलाई सधैं व्यस्त र स्वस्थ्य राख्नुहोस् ।

६) तपाई विगतमा जतिनै नराम्रो भएपनि आज फेरी नयाँ सुरुवात गर्न सकिन्छ, जसरी हरेक रातपछि एउटा नयाँ विहानीको सुरुवात हुन्छ । तपाई त्यो विहानीको सुर्यको किरण बनेर यो संसारमा उदाउन सक्नुहुनेछ । किन कि भगवान बाट त गल्ती हुन्छ भने हामी त मानिस हौ । तर आफूले गरेको गल्तीलाई सुर्धादै सहि दिशामा लाग्नु हुन्छ भने तपाई एक दिन सूर्यको किरण जस्तै बनेर यो संसारमा चम्किन सक्नुहुनेछ ।

७)मानिसहरु भन्ने गर्छन् जब कोही आफ्नो मान्छे टाढा हुन्छ तब मन दुख्छ तर हामी सबैले महसुस गरेको कुरो हो जब कोही आफ्नो मान्छे नजिक भएर पनि टाढाको जस्तो व्यवहार देखाउँछ तब मन दुख्छ । सायद त्यो मनलाई सम्झाउन वर्षौ पनि लाग्न सक्छ । यो हाम्रो समाजको तितो यथार्थ हो । आज कतिपय मानिसहरु यसरी नै तड्पिएर बाँच्न विवश छन् । त्यसैले यदि तपाईको कोही सँग केही मनमुटाव भएको छ भने पनि त्यसलाई विर्सिएर समय मै आफ्ना मान्छेहरुलाई माया र पहिचान गर्न सिक्नुहोस् । किन कि बगेको खोला फर्किएर आउँदैन र समयले कसैलाई पर्खिदैन ।

८) कहिले पनि अरुको छेऊमा आफूलाई कमजोर नबनाउनुहोस् किनकि डुब्न लागेको घामलाई देखेर मानिसहरु आफ्नो घरको ढोका लगाउने गर्दछन् । त्यति मात्र होइन जब मानिस वृद्ध अवस्थामा पुग्छ तब आफ्नै घरको सानो बालकदेखि पनि उसलाई डर लाग्छ कतै त्यो बालकले धकेलेर लडाई दिने हो कि भनेर किन कि मानिसलाई आफ्नो ज्यानको माया धेरै हुन्छ । त्यसैले आफ्नो कमजोरी सबैलाई बताउदै नहिड्नुहोस् । त्यस्तो व्यक्तिलाई मात्र बताउनुहोस् जसले तपाईको हृदय भित्रको आवाजलाई आफ्नै आवाज मानेर सुन्ने र व्यवहारमा कार्यान्वयन गर्न सक्ने क्षमता त्यो मानिससँग होस् । नत्र आफै आफ्नो गन्तब्यलाई अगाडि बढाउने कोशिस गर्नुहोस् । जब तपाई अघि बढ्न थाल्नु हुन्छ तब मानिसहरु तपाईलाई पच्छाउन थाल्नेछन् ।

९)जीवनमा त्यस्तो व्यक्तिलाई माया र विश्वास गर्नु होस् जसले तपाईको रिस भित्र लुकेको मायालाई पहिचान गर्न सक्ने क्षमता त्यस व्यक्तिसँग होस् । तपाईको मुस्कान भित्र लुकेको पीडालाई बुझ्न सक्ने उसको आत्माशक्ति होस् र तपाईको विवशता भित्र लुकेको कारणहरुलाई पत्ता लगाउन सक्ने खुवी त्यो व्यक्तिसँग होस् अनि तपाई प्रतिको विश्वास लाई कहिल्यै डकमागउन नदिने आत्माविश्वास होस् ।

१०)फूल जति नै सुन्दर भए पनि प्रशंसा सधैं त्यसको मिठो बास्नाको गरिन्छ, त्यसैगरी मानिस जति नै ठुलो र राम्रो किन नहोस्, प्रशंसा सधैं त्यसको राम्रो गुणको गरिन्छ त्यसैले तपाई राम्रो भन्दा पनि असल मानिस बन्ने प्रयास गर्नुहोस् । किन कि असल गुण भएपछि राम्रो त्यतिकै देखिन्छ ।

११)तपाईले जति दुःख दिएपनि जसले तपाईसँग अलिकति पनि गुनासो गर्दैन, उसैले तपाईलाई सबैभन्दा बढी माया गरेको हुन्छ । किन कि माया भन्ने चिज जोकोही सँग गरिदैन । जो सँग माया गरिन्छ उसँग अन्तरहृदय मिलेको हुन्छ । जहाँ स्यंम भगवानले बास गरेको हुन्छ । त्यसैले यदि कसैले तपाईलाई सच्चा प्रेस र विश्वास गरेको छ भने चाहे त्यो तपाईको आफ्नै परिवार किन नहोस् या त आफ्नो जीवनसाथी किन नहोस् या त प्रेमिप्रेमिका किन नहोस या त साथीभाई नै किन नहोस् जसले तपाईलाई मनदेखि मायागरेको हुन्छ र तपाईको हरेक कार्यमा मद्दत गरेको हुन्छ भने त्यस्ता व्यक्तिलाई घृणा होईन सधैं सम्मान र कदर गर्नुहोस् ।

१२) घमण्ड रक्सी भन्दा पनि ठूलो विष हो, किनकि रक्सीले तपाईको शरीरलाई मात्र हानी गर्छ तर घमण्डले त तपाईको पहिचानलाई नै समाप्त पारि दिन्छ । जुन पहिचान बनाउन तपाईलाई वर्षौ लागेको थियो । त्यसैले आफ्नो जीवनलाई सरल तरिकाले अगाडि बढाउन छ भने यस्ता घमण्ड रिस, आक्रोश र आरिस जस्ता घातक चिजलाई आजैबाट आफ्नो मनमष्तिकबाट हटाई दिनुहोस् ।

१३ पुरुष र महिलाको प्रेम धेरै फरक हुन्छ, जब एउटा पुरुषले महिलासँग प्रेम गर्छ तब उसले आफ्नो जीवनको अलिकति मात्र हिस्सा दिने गर्छ तर जब एउटा महिलाले प्रेम गर्छ तब उनले आफ्नो सर्वस्व दिने गर्छ । किनकि महिलाको हृदय विशाल हुन्छ । जब उसले कसैलाई साँचो माया गर्छ तब उसले त्यो माया भित्र आफ्नो सारा खुशी र सपनाहरु सजाई सकेको हुन्छ । त्यसैले आफ्नो स्वार्थ पुरा गर्नकोलागि झुटो प्रेमको नाममा कुनै पनि महिलाको अस्त्तिवमाथि खेलवाड नगर्नुहोस् । आज यस्तै झुठो प्रेमका नाममा सयौं महिलाहरुको अस्त्तिव गुमेर घर न घाट भएका छन् । त्यसैले तपाईको जवानी हुँदा सम्म त रमाईलो नै लाग्ला तर तपाईले गरेको घातक क्रियाकलापले तपाईलाई जीवन भर खुशीसाथ बाँच्न दिने छैन् संसारमा सबैलाई ठग्न सकिन्छ तर तपाईले आफ्नो आत्मालाई कदापि ठग्न सक्नुहुन्न ।

१४) श्रीमानको परीक्षा श्रीमती विरामी भएको अवस्थामा हुन्छ, श्रीमतीको परीक्षा श्रीमानको गरिबीमा हुन्छ, छोराको परिक्षा विवाह पछि हुन्छ, छोरीको परिक्षा जवानीमा हुन्छ, मित्रको परिक्षा समस्या आईपर्दा हुन्छ र दाजुभाईको परीक्षा लडाईको अवस्थामा हुन्छ । त्यसैले यस्ता अत्तिनै महत्वपूर्ण परीक्षाहरुलाई बुझेर कदम चाल्न सक्यो भने जिन्दगीभर कहिल्यै पनि आफ्नाहरुबाट टाढा भएर एक्लै बस्नुपर्दैन । समयमै सत्यतालाई चिन्न सकिएन भने जीवनमा प्रश्स्त धन त कमाउन सकिएला तर आफ्ना प्रियजन र आफ्न्तको खुशी र माया कमाउन सकिदैन ।

१५) सकेसम्म खराब संगतबाट टाढै बस्नुहोस् किनकि संगतको असर तपाईलाई त पर्छ तर बदनामी तपाईको आमाबुवा घर परिवारको हुने गर्दछ । बेलैमा असल संगतलाई चिन्न सक्नुपर्छ नत्र जीवन वर्वाद हुन्छ । तपाईको जीवन वर्वाद हुनु भनेको तपाईको परिवारको जीवन मात्र बर्वात हुने होइन कि राष्ट्रको विकासमा पनि पछि पर्नु हो र प्रकृतिमाथि अन्याय हुनु हो ।

मानिस हो गल्ती नगर्ने मानिस हुँदैन तर आफ्ना गल्तीहरुलाई सच्चाएर अगामी दिनमा असल कर्म गर्दै मानवीय धर्म जसले निभाउन सक्छ त्यो व्यक्ति नै यो संसारको असल व्यक्तित्वको रुपमा चिरपरिचित हुनेछ । त्यो व्यक्ति नै आफ्नो परिवारको लागि योग्य अभिभावक हुन सक्छ । त्यो व्यक्तिनै एउटा असल साथी हुन सक्छ । अर्कोे कुरा यो संसार माया र विश्वासमा टिकेको छ । यी दुई पवित्र शब्दलाई हामी सबैले सम्मान र ईज्जत गर्न सक्यौ भने आउने दिनहरु प्रेमिल र ईन्द्रेणीको रंगझैं सुन्दर हुनेछन् । त्यसैले हरेक मानिसले साँचो प्रेमलाई चिन्न सक्नुपर्छ ताकि पछि गएर पछुताउनु नपरोस् । समयमै आफ्ना प्रियजन र आफन्तीहरुलाई चिन्न सकिएन भने त्यो दिन फेरि कहिल्यै आउँदैन । किन कि समय आफ्नै रफ्तारमा अघि बढीरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published.