काठमाडौं, ३० भदौ । आम नेपालीले किन कुनै व्यक्ति विशेषलाई महत्व दिएका छन् त ? निराशामा कसैले सानो आशाको किरण फैल्याउन सक्यो भनेपनि उ समाजको नायक बन्न सक्छ ।
जताततै अनियमितता, भ्रष्टाचारले छोपेको छ । आफ्नो पहिलो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही राष्ट्रियताका मुद्दामा अडान राख्दा सबैको ताली पाएका थिए ।
परिणामस्वरुप उनी दोस्रो कार्यकाल प्रधानमन्त्री बन्न सफल बने । तर, सीमित घेरामा रमाउन थालेपछि उनको आलोचना तीव्र हुन थालेको छ । अहिले चर्चा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको छ ।
व्यक्तिको होइन, तीव्र निराशामा आशाको किरण छर्न सफल घिसिङ नेपालीको मनमा बस्न सके । तर, उनलाई दोहो¥यान राजनीतिक नेतृत्व उदासिन बन्यो ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कुलमान प्रकरण ‘इख’ साँध्ने विषय बन्यो । कुलमान घिसिङको नियुक्तिकै क्रममा तत्कालीन यी दुई दलबीचको तनाव थियो ।
हाल पनि त्यही तनाव दोहोरिएको हो कि भन्ने शंकाहरु प्रशस्त छन् । नेकपाभित्रको एमाले समूह घिसिङसँग सुरुदेखि नै असन्तुष्ट रहेको थियो । तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीले रसुवा चिलिमे जलविद्युत आयोजनामा प्रबन्ध निर्देशक रहेका घिसिङलाई केन्द्रीय कार्यालयमा जगेडाका रुपमा तानिन ।
त्यसबेला चिलिमेको सेयर उनले सर्वसधारणका लागि समेत पहिलोपटक जारी गर्ने व्यवस्था मिलाएका थिए । जसका कारण उनी चर्चामा थिए । उनलाई चिलिमेबाट सरुवा गर्दा रसुवामा भने उनका पक्षमा आन्दोलन नै चलेको थियो भने ज्ञवालीको तीव्र आलोचना भएको थियो ।
अहिले त्यही असन्तुष्ट खेमा कुलमानलाई निरन्तरता दिननहुने पक्षमा उभियो । त्यसबेला ज्ञवालीपछि उर्जामन्त्री बनेका जनार्दन शर्माले कुलमानलाई खुल्ला प्रतिष्पर्धा मार्फत कार्यकारी निर्देशक नियुक्त गरे ।
तर, उनी माओवादी निकट जस्तो देखिएको पूर्व एमालेहरुले आरोप लगाउँदै आए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कुलमान नियुक्ति सम्बन्धि प्रस्ताव पेश नै भएन । बरु खुल्ला प्रतिष्पार्धाका आधारमा कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारीमा सरकार रहेको छ ।
ति बाहेक पूर्वएमाले र पूर्वमाओवादी बीच पुनः मतभेद देखिएको छ । सामाजिक सञ्जालमा छताछुल्ला विवादले यो प्रष्ट पार्छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको निरन्तरताका लागि सामाजिक सञ्जालमै लेखे ।
त्यसको जवाफमा नेकपा प्रचार विभागका उपसंयोजक सूर्य थापाले कुनै व्यक्ति विशेषका लागि किन लेखियो भन्दै प्रश्न गरे ।
एउटै विभागका संयोजक र उपसंयोजकको फरक–फरक धारणाले कुलमान बारे नेकपाभित्र तीव्र विवाद प्रष्ट हुन्छ । अझ प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नै असन्तुष्टि राखेपछि प्रधानमन्त्री नै असन्तुष्ट रहेको स्पष्ट हुन्छ ।
यसको मूल कारण विगत देख्नेहरु प्रशस्त छन् । कुलमान एक कर्मचारी मात्र होलान् । तर, कामै नगर्ने परिपाटीमा केही बद्लाव ल्याउने उनको शैलीलाई आम नागरिकले कहिले विर्सने छैनन् ।