सिन्धुपाल्चोक, २९ भदाै । भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका थिए । वर्षात्ले माथिल्लो भाग केही भास्सियो । गत पुसमा सुक्खा पहिरोसँगै केही ढुंगा खसेपछि स्थानीय केही सतर्क त थिए, तर यस्तो भइहाल्ला भन्ने अनुमान गरेका थिएनन् ।
बेलुकीदेखिको अविरल वर्षाले उर्लिएको टक्सारे खोल्सासँगै थिलथिलो बनेका बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर पहिरोले बगाउँदा ११ जनाले ज्यान गुमाएका छन् । २० जना बेपत्ता छन् ।
शनिबार राति करिब साढे ३ बजे एकै पटक पहिरो खस्दा भीरखर्क, नागपुजे र डाँडागाउँ बस्तीका २२ घर भोटेकोसी नदीमा मिसिएका हुन् । ‘यसरी पहिरो आउलाजस्तो लागेको थिएन । अनुमानै नगरेको घटना भयो,’ घटनापछि शोकाकुलको भीडमा कहालिँदै रोइरहेका बाह्रबिसे–७ घुम्थाङ भीरखर्कका ७० वर्षीय सूर्यबहादुर खड्काले भने ।
भूकम्प र अविरल वर्षाले थिलथिलो बनेर जोखिमपूर्ण बनेको भूभागको बासलाई गाउँलेले जोखिम अनुमान गरे पनि नछाड्नु र स्थानीय सरकारले पनि वास्ता नगर्दा जनधनको ठूलो क्षति भएको उनले बताए । ‘यस्तो भइहाल्ला भनेर कसैले सोचेको थिएन,’ उनले भने ।
घुम्थाङ गाउँको माथिल्लो क्षेत्र भीरखर्क, नागपुजे, नेवार टोलीदेखि तल्लो गाउँभर झन्डै दुई सय परिवारको बसोबास थियो । भूकम्पपछि घुम्थाङ गाउँभर एकै नीलो रङका चिटिक्कका घरहरू बनेका थिए ।
बर्खाको सुरुमा नागपुजेमा थोरै पहिरो खस्ने जोखिम देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई समस्याबारे जानकारी दिएका थिए । ‘सामान्य भास्सिएको जमिनले हाहाकार मच्चियो । चिटिक्क बस्ती ध्वस्त बनायो, आफन्त छिमेकी सबै हराए,’ खड्काले भने ।
भीरखर्कभन्दा तल्लो नागपुजे क्षेत्रमा पहिरोको समस्या देखिएपछि एक साताअघि जनप्रतिनिधिबीच छलफल गरेर बस्ती सार्न स्थानीय प्रशासन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गुहारिएको थियो । बाह्रबिसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्छन्, ‘तर प्राधिकरणले कुनै वास्ता गरेन । हामी अनुरोध गर्दागर्दै थाक्यौं, यस्तो भयावह घटना भयो ।’
बर्खाको पहिरोले थोरै समस्या देखिएकाले पल्लो मानेडाँडामा सर्ने तयारीसमेत भइरहेका बेला घटना भएको नागपुजेकी सुनकुमारी तामाङले बताइन् । ‘पहिरोमा सर्वस्व गुमाएँ । सबै आफन्त गुमे, यत्रो पहिरो आउला भन्नेजस्तो लागेकै थिएन,’ उनले भनिन् । पल्लोछेउदेखि वारि भीरखर्क क्षेत्रभरि नै पहिरो खसिरहेकाले शोकाकुल स्थानीय त्रसित भएर तल्लो भेगमा बसाइँ सरिरहेको उनले बताइन् । ‘जनप्रतिनिधिले भूगर्भविद् ल्याएर किन अध्ययन गरेनन् ? बेलामै सतर्क बनाएको भए यत्रो मान्छेले ज्यान गुमाउँदैनथे,’ उनले भनिन् । याे खबर कान्तिपुर दैनिकमा छ ।