काठमाडौँ, २९ भदाै । निजी अस्पतालका प्रयोगशालाको पीसीआर रिपोर्टका आधारमा पनि कोरोना बिमाको दाबी भुक्तानी पाइने भएको छ । बिमा समितिले कोरोना बिमा मापदण्ड-०७७ संशोधन गरी उक्त व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पतालमा परीक्षण गरिएको रिपोर्टका आधारमा मात्र कोरोना बिमामा दाबी भुक्तानी पाइने व्यवस्था थियो । सोमबारदेखि लागू हुने भन्दै समितिले बिमा कम्पनीहरूलाई यसबारे निर्देशन जारी गरेको छ ।

सरकारले निजी प्रयोगशालालाई पीसीआर परीक्षणको अनुमति दिएको अवस्थामा पनि बिमा कम्पनीहरूले तिनलाई मान्यता नदिएको भन्दै चौतर्फी विरोध भएको थियो । सोही कारण बिमा समितिले निजी प्रयोगशालाको रिपोर्टलाई पनि कसरी कोरोना बिमा मापदण्डमा समावेश गर्न सकिन्छ, अध्ययन गर्न एक समिति गठन गरेको थियो । सोही समितिको सुझावका आधारमा आइतबार मापदण्ड परिमार्जन गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार अब स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका निजी अस्पतालका प्रयोगशालाका रिपोर्टका आधारमा पनि बिमा कम्पनीहरूले कोरोना बिमाको दाबी भुक्तानी दिनुपर्नेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड–१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ,’ परिमार्जित मापदण्डमा भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीको बिमा दाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर गराउनुपर्ने व्यवस्था समितिले गरेको छ ।

कोरोना बिमालेखबापतको दाबी भुक्तानीका लागि लघुबिमा पुल व्यवस्थापनका लागि तोकिएको बिमक संघमार्फत एकै स्थानबाट भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ । बिमकलाई दाबी भुक्तानीमा शंका लागे बिमकको आफ्नै खर्चमा स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालामा परीक्षण गराउन पाउने व्यवस्था पनि मापदण्डमा छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.