मनसुन सुरू भएदेखि सिन्धुपाल्चोकमा तारनतार धपेडी छ। शुक्रबार बिहान यहाँ फेरि पहिरो गयो।

जुगल गाउँपालिका–२, लिदीमा बिहान ६ बजेतिर खसेको पहिरो बलेफी खोलासम्म झरेको स्थानीय बताउँछन्। अहिलेसम्म ११ जनाको शव भेटिएको छ भने ३८ जना पुरिएको पुष्टि भएको छ।

दुई साताअघि पनि मेलम्ची बजारमै आठ जना एकै चिहान भए। त्यसै रात पाँचपोखरी थाङपालधाप गाउँपालिका–२ मा एकै घरका श्रीमान–श्रीमतीले सुतेको सुत्यै ज्यान गुमाए। धन्न उनीहरूकी छोरी त्यो रात हजुरआमासँग बाहिर गएकी रहिछन्। नत्र पहिरोले उनीहरूको पनि पखेरु लैजान्थ्यो।

यो सिन्धुपाल्चोकको मात्र सन्ताप होइन।

गृह मन्त्रालयका अनुसार यो वर्ष साउन २९ सम्म पहिरोमा परेर १८९ जनाले ज्यान गुमाइसके भने ४३ जना बेपत्ता छन्, जो फर्केर आउलान् भन्ने आश कमै छ।

पहिरोका यी समाचार सुन्दा इञ्जिनियरिङ भूगर्भविद श्रीकमल द्विवेदी ठ्याक्कै छ वर्षअघिको जुरे (सिन्धुपाल्चोक) घटना सम्झन्छन्।

‘करिब आठ सय मिटर उचाइ र एक वर्गकिलोमिटर क्षेत्रफलको त्यो पहिरो भूगर्भ विज्ञान दृष्टिले सय–डेढ सय वर्ष अन्तरालमा आउने ऐतिहासिक घटना हो,’ उनी भन्छन्, ‘जसरी हामी नब्बे सालको भुइँचालो, बहत्तर सालको भुइँचालो भनेर सम्झन्छौं, जुरे पहिरो त्यस्तै हो।’

यति भनेपछि द्विवेदीका आँखामा जुरे घटनाको वृत्तान्त हेलिकप्टरका पखेटाझैं घुम्न थाले।

Leave a Reply

Your email address will not be published.

You missed